सिन्धुली, ४ पुस । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वार्ड नं१३ बस्ने छत्रमाया मगरले एक सय तीन बर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् । उनले जिल्ला प्रशासन कार्यालयबाट शुक्रबार नागरिकता प्राप्त गरेकी हुन् ।
उनलाई प्रमुख प्रशासकीय अधिकृत भीम बस्नेतले नागरिकता प्रदान गरेका हुन् । रुचानी निवासी छत्रमाया यसअघि नागरिकता नहुँदा राज्यले प्रदन गर्ने सेवासुविधाबाट वञ्चित हुँदै आएकी थिइन् ।
प्रमुख प्रशासकीय अधिकृत बस्नेतले समाचार पढेपछि आफूले वडाध्यक्ष किरण माझीलाई फोन गरेर वृद्धा आमाको विवरण बुझ्न आग्रह गरेको जानकारी दिए ।
“आवश्यक कागजपत्रसहित ती आमालाई पत्ता लगाएर जिल्ला प्रशासन कार्यालयमा लिएर आउन आग्रह गरेकामा आज आएकाले नागरिकता प्रदान गरेका हौँ” उनले भने, “विसं १९७४ माघ १५ गते जन्मनुभएकी छत्रमायाले १०३ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ ।”
नागरिकता नहुँदा राज्यले दिने सेवासुविधाबाट वञ्चित भएकी छत्रमायाले अब वृद्धभत्ता प्राप्त गर्न बाटो खुलेको छ । पाँच वर्षअघि छत्रमायाका श्रीमानको निधन भएको थियो । यसपछि उनलाई नाति पर्ने पदमबहादुर रानामगरले पालनपोषण गर्दै आएका बताइएको छ ।