राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध सडकमा नारा लगाउनेलाई पक्राउ गर्दैछ प्रहरी

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनपछि प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सडकमा नारा लगाउनेहरुलाई पक्राउ गर्न सुरु गरेको छ ।

संसद् विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले १४ पुसमा राजधानीमा आयोजना गरेको विरोध प्रदर्शनमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीविरुद्ध कार्यकर्ताहरुले ‘अमर्यादित’ नारा लगाएको भन्दै गृह मन्त्रीले पक्राउ गर्न निर्देशन दिएको स्रोतले जानकारी दिएको छ ।

प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले अमर्यादित नारा लगाउनेको खोजीमा प्रहरी जुटेको बताए ।

उनले भने, “एकदमै आपत्तिजनक नारा लगाउनेको खोजीमा लागेका छौं ।”

प्रहरीका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध नारा लगाएको भन्दै दार्चुलाका एकजनासहित अन्य केहीको खोजीमा प्रहरी जुटेको छ ।

आइतबारमात्रै विरोध प्रदर्शनमा राष्ट्रपतिविरुद्ध अमर्यादित नारा लगाएको भन्दै प्रधानमन्त्री ओली निकट अखिल नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापालाई भेटेर ज्ञापन पत्रसमेत बुझाएको थियो ।

पछिल्लो समय ओली र प्रचण्ड–नेपाल समूह एकअर्काप्रति सडकमै अमार्यादित बन्दै आएका छन् ।

तर केही प्रहरी अधिकारीले भने सडकमा नारा लगाएकै आधारमा पक्राउ गर्न नहुने पक्षमा देखिएको स्रोतले जानकारी दिएको छ ।

BALLB Entrance Preparation Class Admission Open in Nepal