खनतलासी मुचुल्का :- अपराधसँग सम्बन्धित व्यक्ति, दसी, प्रमाण रहेको अवस्थामा सो कुराको खनतलासी लिनका लागि तयार गरिने लिखतलाई खनतलासी मुचुल्का भनिन्छ । अपराधसँग सम्बन्धित कुनै पनि वस्तु चिज रहेको शंका लागेको अवस्थामा कुनै पनि व्यक्तिको शरीर, घर, जग्गा, कार्यालय आदिमा खनतलासी लिइन्छ । खनतलासी लिनु अघि खानतलासी लिनु पर्नकाे कारण सहितको लिखित सूचना दिनुपर्ने हुन्छ । खनतलासी गर्नु अघि अनुसन्धान अधिकारीले सम्बन्धित घर धनी व्यक्तिलाई आफ्नो तलासी समेत दिनुपर्छ ।
खनतलासी गर्दा महिला मात्र रहने वा बस्न घर कोठाको खनतलासी लिनु परेमा सम्भव भएसम्म अन्य महिलालाई समेत साथमा लिई घरभित्र प्रवेश गरी खनतलासी लिनुपर्छ । तर कुनै महिलाको शरीरको तलासी लिनुपर्दा महिला प्रहरीद्धारा तलासी लिन लगाउनु पर्छ तर महिला प्रहरी नभएको अवस्थामा अन्य कुनै महिलाद्वारा तलासी लिन लगाउनु पर्छ ।
कुनै ठाउँको तत्काल खनतलासी नलिएमा कसुरसंग सम्बन्धित दसी, प्रमाण लोप वा नाश हुन सक्ने वा शंकास्पद व्यक्ति भाग्न वा उमक्ने सक्ने मनासिव कारण भएमा बिना कुनै सूचनाको खनतलासी लिन सकिने छ । खनतलासी मुचुल्का ढाँचा मुलुकी ऐन, २०७४ काे अनुसूची १३ मा व्यवस्था गरिएको छ ।
