मुद्दामा ठहर गर्नुपर्ने विषयसंग सम्वद्घ दाबी जिकिर खण्डन वा समर्थन गर्ने लिखतलाई लिखित प्रमाण भनिन्छ। फिराद दाबी तथा प्रतिउत्तर जिकिर पुष्टि गर्ने कुनै लिखत प्रमाण भए मुद्दाका पक्षहरूले फिरादपत्र तथा प्रतिउत्तरपत्र साथै पेश गर्नु पर्दछ। पक्षले पेश गर्न नसक्ने प्रकृतिका प्रमाण कुनै तेस्रो पक्ष वा संस्था तथा निकायको जिम्मा रहेको कुरा दाबी जिकिरमा उल्लेख गर्नुपर्छ। सो कुरा मनासिव लागेमा त्यस्ता प्रमाण अदालतबाट झिकाई बुझ्नु पर्दछ। लिखित प्रमाणको परीक्षण गर्दा प्रतिउत्तर परेपछि वा पर्ने अवधि नाघेपछि सक्कल लिखत झिकाई हेरी परिक्षण गर्नु पर्दछ। एक पक्षले पेश गरेको प्रमाण अर्को पक्षलाई देखाई सुनाई सद्दे कीर्तमा बयान गर्ने मौका दिनुपर्दछ।
मुद्दाको विवादित विषयवस्तुको वारेमा देख्ने सुन्ने र थाहापाउने व्यक्तिलाई साक्षी भनिन्छ। साक्षी बुझी पाउन निजहरुको नाम, थर र वतन समेत खोली बादीले फिरादपत्र र प्रतिवादीले प्रतिउत्तरपत्रमा उल्लेख गर्नु पर्दछ। साक्षीलाई अदालतमा उपस्थित गराई विवादित विषयबस्तुका सम्बन्धमा प्रश्न सोधी निजले दिएको जवाफ लेखबद्ध गरिने कार्यलाई साक्षी परिक्षण भनिन्छ। नेपाल सरकार वा सार्वजनिक हक हित वा सरोकार रहेको मुद्दामा नवुझि नहुने साक्षीलाई अदालतले म्याद जारी गरी झिकाउने बाहेकका अन्य अवस्थामा जसको साक्षी हो उसैले उपस्थित गराउनु पर्दछ। साक्षी परीक्षण गराउदा साक्षीको सपथ गराउनु पर्छ। साक्षी परिक्षण गर्दा एक पक्षको साक्षीलाई अर्को पक्षले जिरह गर्न मौका दिनु पर्दछ। लिखत प्रमाण र साक्षी परीक्षण सम्बन्धमा देवानी कार्यविधि संहिता ऐन, २०७४ काे दफा १७९ तथा देवानी कार्यविधि नियमावली, २०७५ काे नम्बर ३० मा व्यवस्था गरिएको छ।
यो पनि पढ्नुहोस्: वारिसनामा भनेको के हो र वारिसनामा कति प्रकारको हुन्छ?