Sunday, April 21, 2024
Homeकानूनी जानकारीदेवानी कानुन भनेको के हो ? नेपालमा यसका...

देवानी कानुन भनेको के हो ? नेपालमा यसका महत्व, बिशेषता र सिद्धान्तहरू

यस भित्र : देवानी कानुन  (civil law) भनेको के हो ? देवानी कानुनीका सिद्धान्तहरू के के हुन् ? देवानी कानुनले के कस्तो अधिकार जनतालाई प्रदान गरेको छ ? देवानी कानुन किन महत्वपूर्ण छ ? देवानी कानुनका बिशेषताहरु के के हुन् ? देवानी कानुनका क्षेत्राधिकार कुन कुन हो ? कस्तो किसिमको मुद्दामा देवानी कानुन लागु हुन्छ ? के देवानी कानुनको उल्लंघन गरेमा जेल सजाय हुन्छ ? देवानी मुद्दामा दोषी ठहर भएपछि सरकारी जागिरमा आवेदन दिने अधिकार नष्ट हुन्छ कि ? आजको यस लेखमा तपाहरुले यी सब प्रश्नहरूको जानकारी पाउनु हुनेछ ।

देवानी कानुनको परिचय (Introduction of civil law) :

कानुन धेरै किसिमका छन् तर सामान्यतया कानुनको प्रकृतिलाई हेर्दा कानुनलाई देवानी कानुन (civil law) र फौजदारी कानुन (criminal law) गरी दुई भागमा बाडिएको छ । सामान्य कानुनका दुई भागमध्ये देवानी कानुन पनि एक हो । देवानी कानुन भन्नाले फौजदारी कानुन भन्दा भिन्न रहेको, मानिसका व्यक्तिगत अधिकार र उपचार जनाउने, नागरिकका व्यक्तिगत सम्बन्धी उठेका मुद्दा हेर्ने, अधिकारको संरक्षण गराउन स्थापित गरिएको कानून देवानी कानुन हो ।

व्यक्तिका हकअधिकार, कर्तव्य र हितलाई नियमित तथा व्यवस्थित गर्ने कानुनलाई देवानी कानुन भनिन्छ । यसमा सम्पत्ति तथा पद सम्बन्धी हकको कुरा समावेश भएको हुन्छ । देवानी कानुनको उद्देश्य कसैको हकअधिकार हनन भएमा अदालतबाट त्यसको सुरक्षा गरी अधिकार प्रचलन गराउने रहेको हुन्छ । ब्यक्त सम्बन्धी कानुन, सम्पत्ति सम्बन्धी कानून, पारिवारिक कानून, करार सम्बन्धी कानुन जस्ता सम्बन्धी कुराहरू देवानी कानुन अन्तर्गत पर्दछन् ।

देवानी कानुन का सिद्धान्तहरू (Principles of Civil Law)

देवानी कानुनका सिद्धान्तहरू  (Principles of Civil Law in Nepali) धेरै छन् तर नेपालको कानुनले के कस्तो सिद्धान्तहरू आत्मसात गरेको छ भन्ने कुरा नेपालको मुलुकी ऐन २०७४ को मुलुकी देवानी  संहिता ऐनको परिच्छेद २ मा उल्लेख गरिएको छ । दफा ४ देखि दफा १६ सम्म देवानी कानुनका सिद्धान्तहरूको वारेमा उल्लेख गरिएको छ । जसमा १२ वटा सिद्धान्तहरू छन् । देवानी संहिताका निम्नलिखित सिद्धान्तहरू यस प्रकार छन्:

परिच्छेद २ : देवानी कानुन सामान्य सिद्धान्त

४. सामान्य रुपमा लागु हुने सिद्धान्त तथा व्यवस्था :  यस परिच्छेदमा उल्लेखित सिद्धान्त तथा व्यवस्थाहरु सामान्यत: देवानी कानुनका विषयमा लागू हुनेछन् ।

५. कानुनको अज्ञानता क्षम्य नहुने : कानुनको अज्ञानता क्षम्य हुने छैन । कानुन सबैले  जानेको अनुमान गरिनेछ ।

६. सार्वजनिक हित विपरीत हुने गरी काम गर्न नपाउने : कसैले पनि सार्वजनिक हित विपरीत हुनेगरी कुनै काम कारबाही गर्न पाउने छैन ।

७. कानुन विपरितको काम अमान्य हुने : कानुन विपरितको काम अमान्य हुनेछ ।

८. गल्ती गर्नेले क्षति व्यहोर्नुपर्ने : (१) कुनै पनि काम गर्दा वा गराउँदा कसैको गल्तीले अरुलाई हानी,नोक्सानी हुन गएमा त्यसरी हानि, नोक्सानी भएको क्षतिको दायित्व त्यस्तो गल्ती गर्ने वा गराउने व्यक्तिले व्यहोर्नुपर्नेछ ।
(२) प्रत्येक व्यक्तिले आफूले गरेको गलत कार्यको परीणाम आफैंले व्यहोर्नु पर्नेछ ।
(३) यस संहिता वा कानुनमा अन्यथा व्यवस्था भएकोमा बाहेक उपदफा (१) बमोजिमको दायित्व निर्वाह गर्न सम्बन्धित पक्षले क्षतिपूर्ति व्यहोर्नुपर्नेछ ।

४. क्षतिपूर्तीको निर्धारण कानुनमा व्यवस्था भएबमोजिम हुनेछ ।

९. अरुलाई दुःख दिने गरि काम गर्न नहुने : कसैले पनि अन्य व्यक्तिलाई दुःख दिने, हैरानी हुने वा  निजको इज्जत प्रतिष्ठा वा सम्पत्तिमा क्षति पुग्ने गरी कुनै काम गर्न वा गराउन हुँदैन ।

१०. गल्तीको फाइदा लिन नपाउने : कसैले पनि आफुले गरेको गल्ति बाट भएको फाइदा लिन पाउने छैन ।

११. हित विपरितको काम अमान्य हुने : आफ्नो संरक्षकत्व ,माथवरी, अधीन वा प्रभावमा रहेको वा प्रभाव पर्न सक्ने व्यक्तिको हित विपरीत गरिएको काम अमान्य  हुनेछ ।

१२. व्यक्तित्वलाई स्वीकार गर्नुपर्ने : प्रत्येक व्यक्तिले अन्य व्यक्तिको व्यक्तित्वलाई स्वीकार गर्नु पर्नेछ ।

१३. असल छिमेकी पन कायम गर्नुपर्ने : प्रत्येक व्यक्तिले आफू रहे बसेको ठाउँको समुदाय वा छिमेकीलाई हानी नोक्सानी नहुने गरी असल छिमेकी पन कायम गर्नु पर्नेछ ।

१४. देवानी दायित्वबाट छुटकारा नपाउने : कुनै व्यक्ति उपर फौजदारी कसुरमा मात्र कारवाही चलाएको वा नचलेको आधारमा त्यस्तो व्यक्तिले कानुन बमोजिमको देवानी दायित्वबाट छुटकारा पाउने छैन ।

१५. कानुन विपरीतका प्रथा वा परम्परालाई मान्यता नदिने : कानुन विपरीतका प्रथा वा परम्परालाई न्यायको रोहमा मान्यता दिइने छैन ।

१६. विदेशीको हकमा पनि लागू हुने : विषय ,प्रसङ्ग वा प्रकृतिले कुनै कानुनी व्यवस्था नेपाली नागरिकलाई मात्र लागु हुने अवस्थामा बाहेक यो संहिता वा देवानी कानुन सम्बन्धी अन्य प्रावधान विदेसीको हकमा पनि समान रुपमा लागु हुनेछ ।

देवानी कानुन द्वरा जनतालाई दिएको हकअधिकार (Rights given to citizens by civil law)

देवानी कानुनले जनतालाई विभिन्न हकअधिकार दिएको छ । मुलुकी देवानी संहिता ऐनको परिच्छेद ३ अन्तर्गत जनताले के कस्तो देवानी हकअधिकार (civil rights) पाएका छन् भन्ने कुरा सम्बन्धी व्यवस्था गरिएको छ । महत्वपूर्ण हकअधिकार तल उल्लेखित छन् ।

परिच्छेद ३ : जनतको हकअधिकार

  • कानूनको दृष्टिमा समान हुने : (१) प्रत्येक नागरिक कानूनको दृष्टिमा समान हुनेछन् ।
    (२) कुनैपनि नागरिकलाई कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन ।
  • भेदभाव गर्न नपाइने : (१) सामान्य कानुनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भवस्था, आर्थिक आस्था, भाषा वा क्षेत्र, वैचारिक अवस्था, वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन् ।
    (२) कसैलाई पनि समान कामका लागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा भेदभाव गरिने छैन।
    (३) कुनैपनि नागरिकलाई सरकारी वा सार्वजनिक पदमा नियुक्ति गर्दा कानुनले निर्धारण गरेको योग्यताको आधारमा मात्रा गरिने छ। त्यसरी नियुक्त गर्दा कुनै पनि नागरिक माथि उत्पत्ति, धर्म, वर्ण, जात, जातिय, आर्थिक, अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै कुनै आधारमा भेदभाव गरिने छैन् ।
  • स्वतन्त्रता र अधिकार हुने : (१) कानुन बमोजिम बाहेक कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रता अपहरण गरिने छैन ।
    (२) कानुनको अधीनमा रही प्रत्येक नागरिकलाई देहाय स्वतन्त्रता र अधिकार हुनेछ:
    (क) आफ्नो विचार राख्ने तथा अभिव्यक्त गर्ने,
    (ख) बिनाहातहतियार शान्तिपूर्वक भेला हुने, तथा सभा, सम्मेलन गर्ने,
    (ग) सङ्घसंस्था खोल्ने,
    (घ) नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने,
    (ङ) कुनै पेसा, रोजगार, उद्योग, व्यवसाय गर्ने,
    (च) आफुले चाहेको शिक्षा वा आफ्नो मातृभाषामा शिक्षा आर्जन गर्ने,
    (छ) सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, हस्तान्तरण गर्ने, सम्पत्तिको अन्य कुनै कारोबार गर्ने,
    (ज) सार्वजनिक नैतिकता र परम्पराको मर्यादा राखी सनातनदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन र अभ्यास गर्ने,करार गर्न पाउने : प्रत्येक नागरिकलाई कानुनको अधीनमा रही करार गर्ने अधिकार हुनेछ ।
  • कानून बमोजिम बाहेक कर लगाउन नपाइने : कानुन बमोजिम बाहेक कुनै व्यक्ति पनि व्यक्तिको सम्पत्ति वा आयमा कर लगाउन सकिने छैन् ।
  • इच्छा विरुद्ध काममा लगाउन नपाइने : कुनैपनि व्यक्तिलाई निजको इच्छा विरुद्ध काममा लगाउन पाइने छैन ।
  • क्षतिपूर्ति भराइदिने : (१) दफा २६ बमोजिम उजुरी जाँचबुझ गर्दा प्रत्यर्थीले उजुरकर्तालाई बदनियतपूर्वक क्षति पुग्ने कुनै काम गरेको ठहरिएमा सम्बन्धित अदालतले अवस्था हेरी प्रत्यर्थी बाट उजुरीकर्ता लाइ मनासिब क्षतिपूर्ति भराइदिने छ् ।
    (२) कुनै सरकारी वा सार्वजनिक निकायका कार्यरत पदाधिकारी र कर्मचारीले उल्लेखित नागरिक अधिकारको जानि जानी उल्लंघन गरेको ठहरिएमा उपदफा (१) बमोजिम क्षतिपूर्तिको रकम  त्यस्तो पदाधिकारी वा कर्मचारी आफैंले व्यहोर्नु पर्नेछ ।

देवानी कानुनका भाग (Parts of Civil Law)

व्यक्तिका व्यक्तिगत अधिकारलाई नियमित र व्यवस्थित गर्न तथा तिनीहरु बीच आएको  विवादलाई समाधान गर्न बनेको कानुनलाई देवानी कानुन (civil law) भनिन्छ । देवानी कानुनलाई मुख्यतया चार भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ । देवानी कानुनको भाग तल उल्लेख गरिएको छ ।

  • व्यक्ति सम्बन्धी कानुन
  • पारिवारिक कानून
  • सम्पत्ति सम्बन्धी कानून
  • करार कानुन

देवानी कानुनको क्षेत्र (Jurisdiction of civil law )

फौजदारी कानुन (criminal law) बाहेकका सबै कानुनहरू देवानी कानूनहरू (civil law)  हुन् । यसले फौजदारी कानुन जस्तो समाजमा असर नगर्ने भएपनि व्यक्तिका निजी, अधिकार, कर्तव्य, स्वतंत्रता र काम तथा सम्बन्धसँग जोडिएकोले यसको क्षेत्र (jurisdiction) पनि ठूलो छ । ति बिषयबस्तु लाइ आधार मानी देवानी कानुनको  क्षेत्रलाई निम्न पाँच वटा बुँदामा छुट्याएर अध्ययन गर्न सकिन्छ ।

  • व्यक्ति सम्बन्धी कानुन (Law relating to Person) : देवानी कानुनले प्राकृतिक र कानुनी व्यक्ति सम्बन्धी नियमको ब्याख्या गर्छ । जसमा प्राकृतिक व्यक्तिका अधिकार र कर्तव्यहरु असिमित हुन्छन् भने कृतिम वा कानूनी व्यक्तिका कर्तव्य र अधिकारहरु सीमित हुन्छन् । प्राकृतिक व्यक्ति (natural person) भन्नाले मान्छेलाई जनाउँछ भने कानुनी व्यक्ति (legal person) भन्नाले कानुनले निर्माण गरेको व्यक्तित्वलाई जनाउँछ । जस्तै स्कुल, बैंक, उधोग कलकारखानाहरू, राष्ट्रपति पद, आदि कुराहरु कानुनी व्यक्ति अर्थात् legal person का उदाहरण हुन् ।
  • पारिवारिक कानून (Family Law) : पारिवारिक कानुन अन्तर्गत परिवार बिचका सम्बन्धहरूको अधिकार र कर्तव्य तथा उपचारको व्यवस्था हुन्छ । जस्तै बाबु,आमा, छोरा, छोरी, बुहारी, नाति,नातिना, धर्मपुत्र, पैतृक अधिकार आदिको व्यवस्था हुन्छ । परिवारिक कानुन (Family Law) देवानी कानुनको मुख्य भाग पनि हो । पारिवारिक कानुनले अंशवण्डा, अपुताली, विवाह, सम्बन्ध बिच्छेद र Child adoption आदि विषयहरू सम्बन्धी कुराहरुको वारेमा व्यवस्था गरेको हुन्छ ।
  • सम्पत्ति सम्बन्धी कानून (Property Law) : सम्पत्ति कानुन भनेको सम्पत्ति सम्बन्धी कुराहरु जस्तै सम्पत्तिको रक्षा, प्रयोग, उपभोग र विवादलाई नियन्त्रण गर्नको निम्ति बनाइएको कानुनलाई जनाउँछ । यस अन्तर्गत सम्पत्तिको प्रयोग, किसिम, उपभोग आदि कुराहरुको वारेमा व्यवस्था गरिएको हुन्छ ।  सम्पत्ति सम्बन्धी व्यवस्था तथा अधिकार देवानी कानून (civil law) अन्तर्गत पर्दछन । जस्तै भोग, स्वामित्व, दान, बकस, दाइजो, पेवा, ऋण, सम्पत्ति आदि पर्दछन् ।
  • करार तथा दायित्व सम्बन्धी कानुन (Contract Law) : दुई पक्षबीचको सम्झौतामा उत्पन्न हुने हक अधिकार र कर्तव्य हरु तथा करार गर्ने तरिका उल्लंघन गरेमा उपचार पाउने आधार करार तथा दायित्व सम्बन्धी कानुन हो र करार तथा दायित्व सम्बन्धी कानुन पनि देवानी कानून अन्तर्गत पर्दछ । कुनै कार्य गर्ने करार, एजेन्सी सम्बन्धी करार, धरौटी सम्बन्धी करार देवानी कानुन अन्तर्गत नै पर्दछन् ।
  • अन्य कानून (Other Law) : देवानी कानुनको क्षेत्र निजी अन्तर्राष्ट्रिय कानून सम्बन्धी व्यवस्था, विदेशी वस्तु, विदेशमा भएको काम, विदेशले हक बनेका नीतिनियम सबै अन्य कानुन अन्तर्गत पर्दछन् ।

देवानी कानुनको महत्व  (Importance of Civil Law)

देवानी कानुन व्याक्तिसँग सम्बन्धित कानुन हो । जुन व्यक्ति देखि लिएर व्यक्तिका अत्यावश्यक विषयवस्तुमा आधारित हुन्छ । फौजदारी कानुनका बाहेक सबै कानूनहरु देवानी कानुन अन्तर्गत पर्दछ । जुनसुकै कानुन मानव बाट निर्मित हुन्छ र यसले मानवीय जीवनलाई व्यवस्थित, नियमित र निर्देशित गर्छ । त्यसैले देवानी कानुनको महत्त्व निम्नानुसार देखाउन सकिन्छ ।

  • व्यक्तिगत स्वतंत्रता र अधिकारको संरक्षण गर्न,
  • व्यक्तिगत विवादको समस्याहरू हल गर्न,
  • मानवीय व्यवहारलाई निर्देशित र नियमित गर्न,
  • पारिवारिक सदस्यबीच सुमधुर सम्बन्ध कायम गर्न,
  • सम्पत्ति सम्बन्धी विवादको हल गर्न,
  • समाजमा अपराधिक क्रियाकलाप नियन्त्रण गर्न,
  • नागरिकलाई कानुनको पालना गराउन,
  • व्यक्तिगत अधिकार र कर्तव्यको बोध गराउन,
  • राज्यको प्रशासन सही तरिकाले सञ्चालन गर्न,

देवानी कानुन का बिशेषताहरु (Features/ Characteristics of Civil Law)

  • यो व्यक्तिगत अधिकार सँग सम्बन्धित कानुन हो ।
  • यसले क्षतिपूर्ति दिलाउने दायित्व बोकेको हुन्छ ।
  • यसमा व्यक्तिवादी कानुनहरु बढी हुन्छन् ।
  • यो कानूनको उल्लंघन गरेमा नैतिक बन्धन हुँदैन ।
  • यसले सामान्यता समाजलाई कम असर पार्छ ।
  • यसको क्षेत्र फौजदारी कानुनको भन्दा सानो हुन्छ ।

मुलुकी देवानी संहिता ऐन, २०७४ डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रश्नोत्तर  (FAQs)

देवानी कानुन भनेको के हो ?

व्यक्तिका व्यक्तिगत अधिकारलाई नियमित र व्यवस्थित गर्न तथा तिनीहरु बीच आएको  विवादलाई समाधान गर्न बनेको कानुनलाई देवानी कानुन (civil law) भनिन्छ ।

देवानी मुद्दामा दोषी ठहरे पछि अयोग्य भएको मानिन्छ ?

मानिदैन ।

देवानी मुद्दामा कैदको सजाय हुन्छ कि हुँदैन ?

प्रायः हुदैन ।

निर्दोष साबित नभएसम्म दोषी मानिने सिद्धान्त कुन कानुनको सिद्धान्त हो ?

देवानी कानुनी

यस लेखमा देवानी कानुन संग सम्बन्धित सबै कुरा समेटिएको छ । तपाईंलाई कस्तो लाग्यो सुझाव सल्लाह कमेन्ट मा जानकारी गराउन सक्नुहुन्छ । केही प्रश्न, चाँसो, गुनासो र सुझाव भए कमेन्ट गरेर जानकारी गराउनु, हामीले छिट्टै प्रतिक्रिया दिनेछौ ।


धेरै पढिएका लेख : तमसुक भनेको के हो ? तमसुक कति किसिमको हुन्छ ? तमसुक नमुना र तमसुक लेख्दा ध्यान दिनुपर्ने कुरा सम्बन्धी सम्पूर्ण जानकारी

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Parash Aryal
Parash Aryal
Parash Aryal is Vice Editor-in-chief at Law Scholars Nepal and continuously sharing law related information and knowledge to everyone with the aim of increasing legal awareness in the whole country.
सम्बन्धित पोस्ट

पुनरावेदन भनेको के हो र मुद्दाको पुनरावेदन सम्बन्धी कानूनी...

पुनरावेदन भनेको के हो? कुनै अदालतले शुरु कारबाही गरी फैसला वा अन्तिम आदेश गरेको मुद्दामा...

प्रमाण परीक्षण भनेको के हो?

मुद्दामा ठहर गर्नुपर्ने विषयसंग सम्वद्घ दाबी जिकिर खण्डन वा समर्थन गर्ने लिखतलाई लिखित प्रमाण...

तारिख भनेको के हो?

मुद्दाका पक्षलाई अदालतमा उपस्थित हुनु भनी किटान गरी तोकिएको दिनलाई तारिख भनिन्छ। मुद्दाको कारबाहीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

कानूनी ज्ञान

error: